काठमाडौं – रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी उद्धारमा खटिएका नेपाली सेनाबाट प्राप्त भएको बताएका छन् । उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको छ । उनले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु आशाजनक संकेत भएको उल्लेख गरेका छन् । पछिल्लो जानकारीअनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको न्यौपानेले बताएका छन् । सुरुङभित्र मानिस जीवित रहेको संकेत प्राप्त भएपछि उद्धार टोलीले थप सावधानीका साथ खोजी तथा उद्धारलाई अघि बढाइरहेको छ। उद्धार कार्य भने अझै जारी रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्