काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले लोकतान्त्रिक अभ्यासमा आन्तरिक बहस र फरक मत हुनु स्वाभाविक भएको बताए । देउवाले भने– ‘पार्टीभित्र सानातिना मतभेद हुनु सामान्य हो, तर तिनलाई लिएर विवाद गरिरहनु हुँदैन। हामी सबैको साझा उद्देश्य पार्टीलाई थप सशक्त बनाउने हो। त्यसका लागि म सम्बन्धित पक्षहरूसँग छलफल गरी विवाद हल गर्न तयार छु।’
उनले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै कार्यकर्ताहरूलाई संयमित रहन आग्रह गरे । ‘पार्टीभित्रको विवाद समाधान गर्न हामी संवादको बाटो अपनाउँछौँ। म सबै साथीहरूलाई आग्रह गर्छु– आन्तरिक समस्यालाई पार्टीभित्रै बसेर छलफल गरी टुङ्ग्याउनुपर्छ,’ देउवाले भने ।
पार्टीभित्रको असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै देउवाले भने ‘म सबैको कुरा सुन्न तयार छु। कांग्रेसका साथीहरूको भावना बुझेर म अगाडि बढ्नेछु। विवादले कसैलाई फाइदा गर्दैन, त्यसैले सबै समस्यालाई छलफल र सहमतिका आधारमा हल गर्ने मेरो प्रतिबद्धता छ।’ सभापति देउवाले लोकतान्त्रिक पार्टीमा मतभेद हुनु र त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नु नै पार्टीको शक्ति भएको भन्दै आन्तरिक विवादलाई छिट्टै समाधान गरी पार्टीलाई थप सुदृढ बनाउने बताए ।



प्रतिक्रिया दिनुहोस्