Skip to content

धर्मानन्द जोशीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । जोशीले ‘ल्याटरल इन्ट्री’ पेसागत विज्ञ क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी  दिने घोषणा गरेका हुन् । उनी अहिले उम्मेदवारी दर्ताको लागि राष्ट्रियसभा गृह पुगेको उनको सचिवालयले जनाएको छ ।
उम्मेदवारी घोषणा गर्दै जोशीले आफू दार्चुलामा जन्मिएर हुर्किएको र अध्ययनसमेत दार्चुलामै गरेको उल्लेख गर्दै पछिल्लो समय करिब १५ वर्ष विभिन्न देशमा संयुक्त राष्ट्र संघअन्तर्गत द्वन्द्व व्यवस्थापन, कानुन निर्माण तथा राजनीतिक मामिलाका क्षेत्रमा काम गरेको बताए ।
जोशीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट दार्चुला–१ मा उम्मेदवार बन्ने अवसर पाएको स्मरण गर्दै त्यसका लागि पार्टी र कांग्रेसप्रति आस्थावान् सबैलाई धन्यवाद व्यक्त गरे । निर्वाचनमा जोशीले १५ हजार ८३६ मत प्राप्त गरेका थिए । उनले आफ्नो उम्मेदवारी बदलिएको, पुस्तान्तरित, रूपान्तरित र बलियो कांग्रेस निर्माण गर्ने उद्देश्यमा केन्द्रित रहेको बताए । कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र भइरहेका परिवर्तन, पुस्तान्तरण र रूपान्तरणलाई संस्थागत गर्ने विश्वास व्यक्त गर्दै उनले देशभरका महाधिवेशन प्रतिनिधिको साथ र सहयोगको अपेक्षा राखेको बताए ।
केन्द्रीय सदस्यमा निर्वाचित भएमा सुशासन, भ्रष्टाचार न्यूनीकरण र संविधान संशोधनका क्षेत्रमा विशेष योगदान गर्ने जोशीको भनाइ छ । जोशीले आफूले अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको अनुभव र ज्ञानलाई नेपाली कांग्रेस तथा देशको हितमा उपयोग गर्ने उद्देश्यसहित पेसागत विज्ञको क्लस्टरबाट उम्मेदवारी दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्