काठमाडौं – निजी विद्यालय, प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनलगायत शैक्षिक संगठन तथा तिनका पदाधिकारीलाई लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरिएको भन्दै प्याब्सन काठमाडौं र नेशनल प्याब्सन काठमाडौंले आपत्ति जनाएका छन् । काठमाडौँस्थित डियर वाक स्कुलका सञ्चालक डा. रुद्र पाण्डेयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका अभिव्यक्ति अपमानजनक र मर्यादाविपरीत भएको भन्दै दुवै संगठनले संयुक्त रूपमा शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंमा ज्ञापनपत्र बुझाएका हुन् । प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट र नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृतकुमार खड्काले एकाइका प्रमुख सुरेशकुमार जोशीसमक्ष ज्ञापनपत्र पेस गरेका हुन् ।
ज्ञापनपत्रमा निजी विद्यालयहरूले नेपालको शैक्षिक विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ । विद्यालयको व्यवस्थापन, सञ्चालन तथा नीतिगत विषयमा स्वस्थ आलोचना र असहमति राख्न पाउनु लोकतान्त्रिक अधिकार भए पनि त्यसका नाममा व्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिनु उचित नहुने उनीहरूको भनाइ छ । शैक्षिक क्षेत्रका नीतिगत, व्यवस्थापकीय तथा व्यावसायिक विषयमा कुनै असहमति भए संस्थागत संवाद र सम्बन्धित निकायमार्फत समाधान खोज्न सकिने अवस्था हुँदाहुँदै सामाजिक सञ्जालमा अपमानजनक अभिव्यक्ति सार्वजनिक गरिनुले शैक्षिक क्षेत्रको सौहार्दपूर्ण वातावरण र संस्थागत सम्बन्धमा नकारात्मक असर पार्ने ज्ञापनपत्रमा उल्लेख छ ।
दुवै संगठनले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका अभिव्यक्तिको सत्यतथ्य र सान्दर्भिकताबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । साथै, सम्बन्धित पक्षलाई आफ्नो भनाइ राख्ने उचित अवसर प्रदान गरी प्रचलित कानुनविपरीत कार्य भएको पुष्टि भए आवश्यक कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पहल गर्न आग्रह गरेका छन् । शिक्षा क्षेत्रको मर्यादा, संस्थागत सम्मान, पारस्परिक सद्भाव र स्वस्थ शैक्षिक वातावरण संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै दुवै संगठनले ज्ञापनपत्रमाथि आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा विकास तथा समन्वय एकाइको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्