Skip to content

समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य रोक्न महासंघको चेतावनी, आन्दोलनमा उत्रिने संकेत

काठमाडौं – नेपाल पत्रकार महासंघले समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासंघले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई प्रेस स्वतन्त्रता, संविधान र अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षमा बर्दीधारी प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिनुलाई ‘राज्य आतंक’ को संज्ञा दिएका छन् ।

‘यो अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन हो’, दाहालले भने । उनले यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दै राज्य आतंक नरोकिए त्यसविरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प नरहेको चेतावनी दिएका छन् । शुक्रबार प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, शुक्रबार नै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ । अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै पाँच जना सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालय पुगेका थिए । नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरीले संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै कार्यालय पुगेको थियो । शुक्रबार नै मोटिभेट न्युजमा कार्यरत पत्रकार शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने र पत्रकारलाई नियन्त्रणमा लिने घटनापछि पत्रकार महासंघले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको संरक्षणका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्