काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गर्ने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् । विभिन्न सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले कानुनविपरीत पक्राउ र धरपकड बन्द गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको बताएका छन् । विगतमा पनि शासकहरूले आफूहरूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि हस्तक्षेप गरेका घटना स्मरण गराउँदै उनले त्यस्ता प्रवृत्ति पुनः दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको उल्लेख गरेका छन् ।
नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा उभिँदै आएको बताउँदै थापाले निरंकुश र स्वेच्छाचारी कदमविरुद्ध पार्टी निरन्तर संघर्षरत रहने बताएका छन् । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै उनले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट त्रुटि भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया रहेको स्पष्ट पारेका छन् । ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको अवधारणाविपरीत भएको उनको भनाइ छ । उनले सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको हस्तक्षेपको घोर भर्त्सना गरेका छन् । थापाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमाथि भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग जोडदार माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्