काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।
कर्णालीका डेभिड मिलरले अविजित ९३ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले जारी प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत रन बनाउने क्रममा आक्रामक ब्याटिङ गरे । तर, उनलाई अर्को छेउबाट पर्याप्त साथ मिल्न सकेन । कर्णालीको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरको दोस्रो बलमै अरिफुल इस्लामलाई गुमाएको कर्णालीले ३.२ ओभरभित्रै दुवै ओपनर गुमायो । स्कट कुगलेइनले अरिफुललाई खाता खोल्न नदिई आउट गरे भने मार्क वाट ९ बलमा ४ रन बनाएर पभेलियन फर्किए ।
त्यसपछि ब्याटिङमा आएका मिलरले एकातिरबाट आक्रामक ब्याटिङ गरे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । दीपक डुम्रेले १८ रन बनाउनु बाहेक कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीले पावरप्लेमा ३ विकेट गुमाएर ३५ रन बनाएको थियो । ८.५ ओभरमा पवन सर्राफ ५ रनमा आउट भए भने हुसैन तलातले पनि एक रनमात्र बनाउन सके । १० ओभरको समाप्तिमा कर्णालीले ५ विकेट गुमाएर ५० रन बनाएको थियो । त्यसबेला टोलीलाई जितका लागि निकै उच्च रनरेट आवश्यक थियो ।
कप्तान सोमपाल कामी सातौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए । उनले आफ्नो जर्सी नम्बर १० डेभिड मिलरलाई दिएर ५ नम्बरको जर्सीमा मैदान प्रवेश गरेका थिए । तर, सोमपाल १७ बलमा ८ रन बनाएर अभिनाष बोहराको बलमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, अनिल खरेल, हेमन्त धामी, अभिनाष बोहरा र थारिन्दु रत्नायकेले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । सुदूरपश्चिमले आक्रामक सुरुवात गर्दै पाँच ओभरमै ५० रन कटाएको थियो । पावरप्लेमा विनोद भण्डारी र सैफ जैबको ओपनिङ जोडीले बिना विकेट ६३ रन जोडेको थियो ।
विनोद भण्डारी २७ रनमा रनआउट भए भने सैफ जैब ३५ रन बनाएर सूर्य तामाङको बलमा आउट भए । त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी पनि १० रन बनाएर रनआउट भए । ब्रेन्डन म्याकमुलनले १६ बलमा २४ रन जोडे । पाँचौँ नम्बरमा आएका ईशान पाण्डेले २३ रन बनाए । डेभिड मिलरले उनको क्याच छुटाएपछि जीवनदान पाएका पाण्डेलाई पछि मिलरले नै उत्कृष्ट क्याच लिँदै पभेलियन पठाएका थिए । अन्तिमतिर थारिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै २२ रनमा अविजित रहे । स्कट कुगलेइनले पनि अविजित १३ रन जोडेपछि सुदूरपश्चिमले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो ।
कर्णालीका मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ र हुसैन तलातले समान एक–एक विकेट हात पारे । यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा अर्को महत्वपूर्ण सफलता हात पारेको छ । यसअघि पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको उसले चौथो खेलमा चितवन राइनोजलाई ५ विकेटले हराएको थियो । यता कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग ४ विकेटले पराजित भएको कर्णालीले सुदूरपश्चिमसँग पनि हार बेहोरेको छ ।


प्रतिक्रिया दिनुहोस्