विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनाबारे सोधपुछ गर्ने क्रममा आफ्नै श्रीमतीलाई कुटपिट गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका–६ का ती युवकले आफ्ना ५५ वर्षीय बुवामाथि लागेको बलात्कार आरोपबारे श्रीमतीलाई समेत सँगै राखेर बालिकासँग सोधपुछ गर्ने क्रममा श्रीमतीमाथि कुटपिट गरेको आरोप छ। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका युवकका बुवामाथि मंसिर २९ गते राति १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनालगत्तै आरोपित ५५ वर्षीय व्यक्तिलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका युवकविरुद्ध अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्