काठमाडौं – सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ । नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको नीति रहेको बताइन् ।
मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको छ । त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउन स्थानीय तहको सहकार्यमा सङ्घीय सरकारले एक प्रतिशत बराबरको सह-योगदान उपलब्ध गराउने व्यवस्था अघि बढाएको उनले जानकारी दिइन् ।
सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहमा श्रम गर्ने नागरिकसम्मलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्री बादीको भनाइ छ । उनले विभिन्न निकाय र क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन् । सामाजिक सुरक्षा कार्यक्रमलाई पारदर्शी, सरल र योगदानकर्तामैत्री बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास सरकारको प्राथमिकतामा रहेको उनले बताइन् । सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्नेमा पनि उनले जोड दिइन् ।
मन्त्री बादीका अनुसार सामाजिक सुरक्षा कोषमा हाल ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन् । कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालाई गैरयोगदानमूलक सामाजिक सुरक्षामार्फत र रोजगारी तथा योगदान गर्न सक्ने नागरिकलाई योगदानमा आधारित प्रणालीमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको स्पष्ट पारिन् । सामाजिक सुरक्षा कोषमा सङ्कलित रकमलाई सुरक्षित तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी गरी दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्ने सरकारको योजना रहेको पनि उनले बताइन् । यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो ।



प्रतिक्रिया दिनुहोस्