Skip to content

कृष्णनगर नगरपालिकाका इन्जिनियर चौधरीविरुद्ध डेढ लाख घुस लिएको आरोपमा मुद्दा दायर

Nepal Bank

काठमाडौं – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार इन्जिनियर प्रदीप कुमार चौधरीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर चौधरीले सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेका थिए । अनुसन्धानका क्रममा उनले निर्माण व्यवसायीसँग कमिसनबापत रकम माग गरी बार्गेनिङ गरेको र चेकमार्फत ५० हजार रुपैयाँ तथा बैंक खातामा फोनपेबाट एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

चौधरीले राष्ट्रसेवक पद तथा ओहदाको दुरुपयोग गरी सेवाग्राहीलाई विभिन्न बहानामा दुःख हैरानी दिँदै कुल एक लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारको निष्कर्ष छ । आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ । उक्त बिगो बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको मागदाबीसहित आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्