Skip to content

नेशनल प्याब्सन काठमाडौंको खेलकुद सप्ताह–२०८२ मंसिर २२ देखि सुरु, १३९ भन्दा बढी विद्यालयको सहभागिता

काठमाडौं – नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिले आयोजना गर्ने आठौँ संस्करणको जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ आगामी मंसिर २२ गतेदेखि पुष १ गतेसम्म सञ्चालन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक प्रेम कुमार भुजेलले सो जानकारी गराएका हुन् । उनका अनुसार खेलकुद सप्ताह विद्यालय तहका विद्यार्थीमा खेलकुदप्रति अभिरुचि बढाउने, अनुशासन तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले विगत वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ। यस वर्षको संस्करणमा १३९ भन्दा बढी सदस्य विद्यालयले विविध खेलमा सहभागिता जनाउनेछन् । खेलकुद सप्ताह अन्तर्गत यस वर्ष फुटसल, बास्केटबल, कबड्डी, तानडोरी तथा मार्चपास गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। जसमध्ये मार्चपास प्रतियोगिता निःशुल्क हुने र उद्घाटनका दिन २००० भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। मार्चपासमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूलाई क्रमशः रु ५०००, ३००० र २००० नगदसहित पुरस्कृत गरिनेछ ।

बाँकी चार विधा सदस्य विद्यालयका विद्यार्थीहरूले तोकिएको शुल्कसहित भाग लिन सक्ने व्यवस्था गरिएको छ। फुटसल, बास्केटबल र कबड्डीका लागि प्रति टिम रु ४००० र तानडोरीका लागि रु ३००० शुल्क तोकिएको भुजेलले जानकारी दिए । खेल संचालनका लागि जिम्मेवारी पनि तोकिएको छ। फुटसलका संयोजक नारायणबाबु तिमल्सिना, बास्केटबलका संयोजक माधव अधिकारी, कबड्डीका संयोजक समिर बास्तोला, तानडोरीका संयोजक शिवराम गिरी र मार्चपासका संयोजक टंक थापा रहनेछन् । यस वर्षका खेलहरू विभिन्न स्थानमा सञ्चालन हुनेछन्। कपनस्थित दिक्क्षालय फाउन्डेशनमा फुटसल, संखमुलको नेरिक एकेडेमीमा बास्केटबल, सिनामंगलस्थित एजीएम स्कुलमा कबड्डी र भीमसेनगोला स्थित श्री अमर आदर्श स्कुलमा तानडोरी आयोजना हुनेछ । खेलकुद सप्ताहको उद्घाटन समारोह मंसिर २२ गते सिफल खेलमैदानमा नेपाल सरकारका खेलकुदमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रम रहेको छ। समापन समारोह भने पुष १ गते आयोजना हुनेछ । कार्यक्रम सञ्चालनका लागि करिब रु ७ लाख ७५ हजार खर्च हुने अनुमान गरिएको छ। प्रत्येक खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ ।

“सहकार्य र एकताबाटै खेलकुद सप्ताह सफल हुन्छ” — संयोजक भुजेल

कार्यक्रम समापन पुष १ गते विशेष समारोहबीच हुनेछ ।  समापनतर्फ सम्बोधन गर्दै संयोजक भुजेलले खेल संयोजक, प्रशिक्षक, रेफ्री, सदस्य विद्यालय, प्रायोजक तथा पत्रकार सबैको योगदानबिना यस्तो भव्य आयोजनाको सम्भावना नहुने बताए ।उनले भने,
“देश–विदेशमा सूचना फैलाउने माध्यमका रूपमा पत्रकार साथीहरूको साथ र सहयोग नै हाम्रो सबैभन्दा ठूलो ऊर्जा हो । सबैको सहकार्य, एकता र समर्पणले नै यो खेलकुद सप्ताह सफल हुनेछ ।  पत्रकार सम्मेलनमा संयोजक भुजेलले खेलकुद सप्ताह सफल रुपमा सम्पन्न गर्न संयोजक, प्रशिक्षक, रेफ्री, सदस्य विद्यालय, प्रायोजक तथा पत्रकार सबैको सहकार्य आवश्यक पर्ने भन्दै साथ–सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्