Skip to content

अर्किड प्युपल सेकेन्डरी स्कुलमा ‘अर्किड स्पोर्ट्स मिट–२०८२’ सुरु

 

काठमाडौँ  – काठमाडौँको गोठाटारामा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलद्वारा आयोजित खेलकुद सप्ताह अर्किड स्पोर्ट्स मिट–२०८२ आज भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ। विद्यालय परिसरमा आयोजित उद्घाटन कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

खेलकुद सप्ताह अन्तर्गत अन्तर–सदनात्मक, कक्षागत तथा तहगत रूपमा विभिन्न खेल विधाहरू सञ्चालन गरिएको छ। पहिलो दिनमै विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन्। विभिन्न खेल प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गरेको छ ।  आज, भोलि र पर्सी गरी तीन दिनसम्म सञ्चालन हुने उक्त खेलकुद सप्ताहका विजेता खेलाडीहरूलाई आउँदै गरेको सरस्वती पूजाको पावन अवसरमा विशेष समारोहका बीच पुरस्कृत गरिने विद्यालयले जनाएको छ । कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक सीबी कार्कीले विद्यालय तहबाटै खेलकुदमार्फत अनुशासन, प्रतिस्पर्धात्मक भावना, सहकार्य र समाजिकीकरणको विकास हुने विश्वास व्यक्त गरे। “खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकाससँगै नेतृत्व क्षमताको समेत विकास गर्छ,” उनले भने । त्यस्तै, विद्यालय संयोजक नरेन्द्र पाण्डेयले यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीभित्र लुकेका प्रतिभा पहिचान गर्न सहयोग पुग्ने उल्लेख गर्दै विद्यालयले शैक्षिक गतिविधिसँगै सह–पाठ्यक्रमिक गतिविधिलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको बताए । विद्यालय परिवारले अर्किड स्पोर्ट्स मिट–२०८२ पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई अनुशासनका साथ खेलकुदमा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्