पशुपतिनगर – इलामको रोङ गाउँपालिका–३ स्थित कुट्टिडाँडामा रहेको सानो पाथीभरा मन्दिरमा दाताले चढाएको भेटी स्वरूपको सुन–चाँदी पगालेर एक ढिक्का बनाउने काम भइरहेको छ। गाउँपालिकाले ‘पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन ऐन’ बनाएर २०७९ सालमा मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएपछि मन्दिरमा जम्मा भएको सुन–चाँदी सरोकारवालाको रोहवरमा पगालेर एक ढिक्का बनाउने काम सुरु गरिएको हो।
२०७९ सालमा कार्यविधि बनाएर मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएपछि पाथीभरा विकास समिति गठन गरिएको थियो। समितिले काम सुरु गरेयता मन्दिरमा दाताले चढाएको सुन–चाँदी पालिकाका जनप्रतिनिधि, नापतौल विभाग, सुनचाँदी व्यवसायी सङ्घ, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रहरी, पाथीभरा विकास समिति तथा सञ्चारकर्मीको रोहवरमा पगालेर एक ढिक्का बनाउने काम भइरहेको छ। आज रातिसम्ममा एक ढिक्का बनाएर जम्मा नगद, सुन र चाँदीको विवरण सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दाताले चढाएको भेटीलाई पारदर्शी रूपमा व्यवस्थापन गर्नका लागि पगालेर एक ढिक्का बनाई गाउँपालिकाको आम्दानीमा जम्मा गरिने जानकारी दिनुभयो। पाथीभरा विकास समितिका कोषाध्यक्ष कृष्णकुमारी भुजेलका अनुसार समितिलाई जिम्मेवारी दिइएपछि मन्दिरमा दैनिक रूपमा नगदको हिसाब राख्ने गरिएको छ। पालिकाले सुन तथा चाँदीको हिसाब भने दाताले चढाएको दिनमै जम्मा गरी दैनिक रूपमा पोको पारेर मिति उल्लेखसहित सिल गरेर राख्ने व्यवस्था गरेको छ।
गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले जम्मा भएका सुन तथा चाँदी सबै पक्ष बसेर रुजु गरी पगालेर एक ढिक्का बनाउने काम भइरहेको बताउनुभयो। अध्यक्ष स्याङ्बोका अनुसार मन्दिरमा जम्मा भएको सुन तथा चाँदी पगालेर एक ढिक्का बनाएपछि तत्कालका लागि गाउँपालिकाको आम्दानीमा राखिने र त्यसपछि के गर्ने भन्ने विषयमा कार्यपालिकाले निर्णय गर्नेछ। उहाँले भन्नुभयो, “हामी पारदर्शी रूपमा काम गर्न चाहन्छौँ। हाम्रो कार्यकालमा सुन–चाँदी बिक्री गर्ने योजना छैन, कार्यपालिका बैठकले यसबारे निर्णय गर्नेछ।” पालिकाले मन्दिरमा जम्मा हुने भेटीलाई व्यवस्थित बनाउन दैनिक हिसाब राख्ने व्यवस्था सहितको सफ्टवेयर निर्माण गर्ने काम पनि गरिरहेको जनाएको छ।
२०७९ सालअघि मन्दिरको पुरानो समितिले काम गर्दा भेटीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। अख्तियार र जिल्ला प्रशासन कार्यालयले छानबिन गर्दा अनियमितता भएको ठहर गरेपछि हिनामिना भएको रकम असुल गर्न निर्देशन दिएको थियो। तर उक्त रकम हालसम्म पुरानो समितिले बुझाएको छैन। त्यसैगरी, सो समयको जिन्सीसमेत हालसम्म पालिकालाई हस्तान्तरण गरिएको छैन। मन्दिरमा स्वदेश तथा विदेशबाट दर्शनार्थीहरू विभिन्न भाकल पूरा हुने विश्वासका साथ आउने गरेका छन्।





प्रतिक्रिया दिनुहोस्