भक्तपुर — भक्तपुर नगरपालिका वडा नं. ४ गःपलीस्थित सेकरिड हार्ट एकेडेमी को २३औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि प्रजापतिले मिहिनेत, निरन्तर अभ्यास र अवसरले मात्रै विद्यार्थीलाई सफलता दिलाउने बताउँदै अवसर पाएमा हरेक विद्यार्थीले उत्कृष्टता हासिल गर्न सक्ने धारणा व्यक्त गरे । उनले विद्यार्थीको क्षमता अनुसारको शिक्षा प्रदान गर्नु शिक्षकको मुख्य कर्तव्य भएको पनि उल्लेख गरे । कार्यक्रममा प्रिन्स लामा सहित एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरियो । नगर प्रमुख प्रजापतिले बलियो शैक्षिक जगले नै विद्यार्थीको सुनिश्चित भविष्य तय गर्ने आधार तयार गर्ने बताए ।
विद्यालयका प्रिन्सिपल श्रीराम सुवालले एसईई २०८१ मा ४ जीपीए ल्याउन सफल प्रिन्स लामालाई प्रोत्साहन स्वरूप रु. ५० हजार प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। करिब ६०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा किताबी ज्ञानसँगै असल संस्कारको विकास आवश्यक रहेको उहाँको भनाइ थियो । त्यस्तै, नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयको उत्कृष्ट नतिजाको प्रशंसा गर्दै क्षमतावान विद्यार्थी, मिहिनेती शिक्षक, कुशल व्यवस्थापन र अभिभावकको सहकार्यले यस्तो उपलब्धि सम्भव भएको बताए । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, उत्प्रेरक विकाश देव लामा, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम पिरसीद खाताखो लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा एसईई २०८१ का उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारी, कक्षागत उत्कृष्ट विद्यार्थी तथा विभिन्न विधामा अब्बल र विजेता विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्