Skip to content

उपसभामुखमा रुबीकुमारी निर्वाचित, यस्तो छ उनको पारिवारिक अवस्था !

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन् । आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो ।

एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा २२ मत खस्यो ।

को हुन् रुबीकुमारी ?

नेपालकै कम उमेरकी उपसभामुख बनेकी २५ वर्षकी रुबीकुमारी अहिलेको संसदकै कान्छी सदस्य पनि हुन् । श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो । धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन । उनको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो । रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदीअरबमा छन् । आमा रेणु गृहणी हुन् ।दुई विघा जमिन अधियाँमा लिएर गरेको खेति र बुवाले पठाउने रेमिट्यान्सबाट रुबीको परिवार चलेको छ । रुबीले २७४ सालमा एसईई उत्तिर्ण गरेपश्चात धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरेकी छन् । सांसद बन्नुअघिसम्म उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्थिन् र मासिक २० हजारजति कमाउँथिन् । चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुग्दा पहिलो पटक रुबीले उनलाई भेटेकी थिइन् । साम्पाङबाट प्रभावित बनेर उनी श्रम संस्कृति पार्टीको चुनाव प्रचारप्रसारमा हिँड्न थालिन् । त्यसै वापत पार्टीले उनलाई मधेसी महिला क्लस्टरबाट समानुपातिकमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्