काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले पार्टीभित्रको वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालतको वैशाख ४ गतेको निर्णयसँगै अन्त्य भएको बताएका छन् । उनले अब राजनीतिक विवाद समाधानको एकमात्र वैधानिक र संस्थागत बाटो आसन्न १५औं महाधिवेशन नै भएको बताएका हुन् ।
बडूले १४औं महाधिवेशनको पुरानो क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक तथा नयाँ सदस्यता वितरणबारे देखिएका प्रारम्भिक शंका वैशाख ३ गते पार्टी प्रवक्ताले जारी गरेको विज्ञप्तिबाट स्पष्ट भएको उल्लेख गरेका छन् । उनले केही विषयमा आपसी संवाद र सहमतिबाट थप स्पष्टता आवश्यक भए पनि संवादकै नाममा तिक्तता र जटिलता बढाउनु उचित नहुने बताएका छन् । पार्टी सभापतिको सकारात्मक र इमान्दार पहलमा सबै पक्षको सहभागितासहित विषयगत समाधान खोज्दै अघि बढ्न सकिने उनको भनाइ छ । नयाँ वर्ष २०८३ को शुभारम्भसँगै सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई प्रस्तावित १५औं महाधिवेशनमा सहभागी हुन उनले आह्वान गरेका छन् । पार्टी र देशका सामु रहेका चुनौती सामना गर्न एकता आवश्यक रहेको उनको जोड छ ।




प्रतिक्रिया दिनुहोस्