काठमाडौँ – काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी वस्ती सरकारले आजदेखि खाली गर्दैछ । सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै डोजर चलाएर काठमाडौंको थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी वस्तीमा शनिबारदेखि खाली गर्न लागेको हो । शनिबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी पनि छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार जारी गरेको सूचनामा शनिबार बिहान ६ बजेदेखि वस्ती खाली गरिने उल्लेख छ ।
वस्तीमा बसोबास गर्दै आएकाहरूलाई शुक्रबारसम्म छाड्न भनिएको थियो। थापाथलीको सुकुम्बासी वस्तीका केही मानिसहरूले शुक्रबार दिउँसो नै आफ्नो सामान सारेका थिए । कोठा नपाउनेहरू भने सामान घरबाहिर निकालेर बसेका थिए । प्रशासनले ‘अटेर’ गरेर बसे काठमाडौं महानगरपालिका र प्रहरीले संयुक्त रूपमा कारबाही गरी त्यस्ता संरचना भत्काउने चेतावनी दिएको छ ।
सरकारले भने बस्ती खाली गर्न बल प्रयोग नगर्ने पनि बताएको छ । सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार पत्रकार सम्मेलनमा वस्तीमा बल प्रयोग नगरिने बरू सुरक्षित स्थानान्तरण गरिने बताएका थिए । सुकुम्बासीहरूलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा भने सरकारले केही सार्वजनिक गरेको छैन । प्रधानमन्त्री बालेन शाहले पनि सुकुम्बासीहरूलाई सुरक्षित स्थानान्तरण गर्ने बताएका थिए । उनले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्