Skip to content

शिक्षामा विश्वासको नाम: अर्किड प्युपल सेकेन्डरी स्कुलको २२औँ वर्ष यात्रा सुरु

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले आफ्नो शैक्षिक यात्राको २१ वर्ष सफलतापूर्वक पार गर्दै २२औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा विद्यालयले शुभकामना व्यक्त गर्दै आफ्नो उपलब्धि, योगदान र आगामी योजनाबारे चर्चा गरेको छ ।

सहपाटीसँग कुराकानी गर्दै  विद्यालयका संस्थापक निर्देशक प्रेमकुमार भुजेलले सुरुवाती दिनहरूको संघर्ष सम्झिँदै अहिलेको सफलतासम्मको यात्रा सजिलो नभएको बताए । “हामीले गुणस्तरीय शिक्षा दिने लक्ष्य लिएर सुरु गरेका थियौँ । आज २१ वर्षपछि त्यो लक्ष्यलाई अझ मजबुत बनाउँदै अघि बढिरहेका छौँ,” उनले भने । आगामी दिनमा प्रविधिमैत्री शिक्षा, व्यवहारिक सिकाइ र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक क्षमता विकासमा विद्यालयले विशेष ध्यान दिने उनको भनाइ छ ।

विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले शैक्षिक गुणस्तरलाई अझ उचाइमा पुर्‍याउन शिक्षक–विद्यार्थी सहकार्यलाई केन्द्रमा राखिएको बताए । “हामी केवल परीक्षा केन्द्रित शिक्षा होइन, जीवन उपयोगी शिक्षा दिन चाहन्छौँ । विद्यार्थीको समग्र व्यक्तित्व विकास नै हाम्रो प्राथमिकता हो,” उनले स्पष्ट पारे । उनले विद्यालयले अनुशासन, नवप्रवर्तन र सिर्जनशीलतालाई एकसाथ अघि बढाइरहेको समेत जानकारी दिए । त्यसैगरी विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले संस्थाको दीर्घकालीन योजना सार्वजनिक गर्दै समुदायसँगको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता जनाए । “विद्यालय केवल पढाइको थलो मात्र होइन, समाज रूपान्तरणको केन्द्र पनि हो । त्यसैले अभिभावक, विद्यार्थी र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भने ।

२१ वर्षको यात्रामा अर्किड प्युपल सेकेन्डरी स्कुलले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको छ । नयाँ शैक्षिक वर्षसँगै विद्यालयले थप नवीन कार्यक्रम, प्रविधिमैत्री कक्षा र अन्तर्राष्ट्रिय स्तरका अभ्यासहरू लागू गर्ने योजना सार्वजनिक गरेको छ । विद्यालयको २२औँ वर्ष प्रवेशले शिक्षा क्षेत्रमा यसको निरन्तरता, विश्वसनीयता र उत्कृष्टताको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्