भक्तपुर — सूर्यविनायक नगरपालिका–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ । विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरे । विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई रु. ५० हजार र छात्रा सरिना लामालाई रु. १० हजार नगद पुरस्कार प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिइन् ।
त्यसैगरी, सत्यशक्ति पुस्तक भण्डारका महेश थापा तथा विद्यालयका सह–प्राचार्य राधेश्याम केसीले पनि रोहिणी शिल्पकारलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सञ्जय खड्काले विद्यार्थीको उत्कृष्ट नतिजामा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथ समान रूपमा महत्वपूर्ण रहने बताए। उनले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो । साथै, विद्यार्थीको सफलताका लागि निरन्तर खटिएका शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ । मदरल्याण्ड स्कुलले यस वर्षको एसईई नतिजालाई विद्यालयको गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थीको क्षमता विकास र शैक्षिक उत्कृष्टतामा थप जोड दिने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्