Skip to content

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार खर्च प्रस्ताव गरिएको छ । जुन कुल बजेटमा चालुतर्फ ३५.५४ प्रतिशत र पुँजीगततर्फ ६४.३५ प्रतिशत हुन आउँछ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ । बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक स्रोत तथा राजश्व तर्फबाट ११ अर्ब २२ करोड ७५ लाख बेहोर्ने अर्थमन्त्री भट्टराईको प्रस्ताव छ ।

यस्तै, संघीय सरकारबाट राजश्व बाँडफाटअन्तर्गत १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान गरिएको छ, भने संघीय सरकारबाट प्राप्त हुने वितीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख हुने अर्थमन्त्रीको अनुमान छ । यस्तै, एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउने अर्थमन्त्री भट्टराईले बताएका छन् । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवापत ७ अर्ब ८४ करोड ८५ लाख, शसर्त अनुदानवापत ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदानबाट ९४ करोड ७४ लाख र विशेष समपूरक अनुदानबाट ७० करोड गरी जम्मा १७ अर्ब ५९ करोड ८७ लाख प्राप्त हुने अनुमान बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्