काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रास्वपाको प्रथम महाधिवेशन एक दिन लम्बिने भएको छ। यसअघि आइतबार सुरु भएर मंगलबार सम्पन्न गर्ने कार्यतालिका तय गरिएको महाधिवेशन अब थप एक दिन सञ्चालन हुने भएको हो । पार्टीका प्रवक्ता मनिष झा ले महाधिवेशनको अवधि बढाइएको जानकारी दिएका छन् । उनका अनुसार सुरुमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको भए पनि अपेक्षाभन्दा बढी सहभागिता भएपछि प्रतिनिधिको संख्या ४ हजार ५०० पुग्ने अनुमान गरिएको छ । प्रवक्ता झाले प्रतिनिधिको उत्साहजनक उपस्थितिलाई सकारात्मक रूपमा लिँदै व्यवस्थापन पक्षमा केही कमजोरी भएको स्वीकार गरेका छन् । उनले अपेक्षाभन्दा धेरै प्रतिनिधि सहभागी हुँदा पूर्वतयारी अनुसार व्यवस्थापन गर्न चुनौती भएको बताएका छन् । चितवनमा जारी महाधिवेशनमा पार्टीको नीति, संगठनात्मक संरचना तथा नेतृत्व चयनसँग सम्बन्धित कार्यक्रमहरू अघि बढिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्