काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ । महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूका लागि गएराति १२ बजेपछि मतदान सुरू भएको हाे । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय माध्यमबाट मतदान भइरहेकाे हो । बिहान सवा ६ बजे सम्ममा १ हजार ५७९ भोट खसेकाे निर्वाचन आयोगले जनाएकाे छ । यसअघि निर्वाचनको समय-तालिका पटकपटक सारिएको थियो । केसीले मतदान आज बिहान १० बजेसम्म सञ्चालन हुने जानकारी दिए । निर्वाचनमार्फत पार्टीको केन्द्रीय समिति तथा विभिन्न पदाधिकारी चयन गरिनेछ । निर्वाचनमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
गत ७ असारदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्ने भएकाले यसलाई पार्टीभित्र महत्त्वपूर्ण राजनीतिक प्रक्रियाका रूपमा हेरिएको छ । मध्यरातमा मतदान सुरू भएसँगै अहिले महाधिवेशन प्रतिनिधिहरू लाम लागेर मतदान हलमा प्रवेश गरिरहेका छन् । मतदान सम्पन्न भएकाे केही समयपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्