Skip to content

सबै कुरामा कमजोरी भएको छ, हामी गम्भीर समीक्षा गर्छौँ : भूपदेव शाह

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री भूपदेव शाहले महाधिवेशनको निर्वाचन प्रक्रियासम्बन्धी उठेका प्रश्नहरूको समीक्षा गरिने बताएका छन् । चितवनमा जारी महाधिवेशनस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका निवर्तमान महामन्त्री शाहले यस्ताे बताएका हुन् । महाधिवेशनमा ‘नो भोट’को व्यवस्था नराखी मतदाताको विवेकमाथि प्रणालीले नियन्त्रण गरेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै शाहले निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सबै विषयमा गम्भीर समीक्षा गरिने बताए ।

‘सबै कुरामा कमजोरी भएको छ, हामी गम्भीर समीक्षा गर्छौं,’ उनले भने, ‘महाधिवेशन सकेर हामी सबै कुराको समीक्षा गर्नेछौँ ।’ शाहले तत्काल सबै विषयमा सार्वजनिक रूपमा टिप्पणी गर्नु उपयुक्त नहुने पनि बताए । ‘अहिले सबै कुरा नबोलौं । कतिपय विषयमा समयअघि र समयपछि बोल्नु उपयुक्त हुँदैन । सही समयमा मात्रै बोल्नुपर्छ । हामी उचित समयमा आफ्ना कुरा राख्छौं,’ उनले भने । यसैबीच, रास्वपाको निर्वाचन आयोगका अधिकारीका अनुसार आज बिहान ९:३० बजेसम्म करिब २ हजार ७ सय मत खसिसकेको छ । मतदान प्रक्रिया जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्