काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ। विभागले उनीमाथि चलिरहेको अनुसन्धानका क्रममा अध्यागमन विभागलाई पत्राचार गर्दै विदेश यात्रा रोक्ने उद्देश्यले पासपोर्ट रोक्का गरेको जनाएको छ ।विभागसम्बद्ध स्रोतका अनुसार सुमार्गीविरुद्ध प्राप्त उजुरीमाथि अनुसन्धान भइरहेका बेला उनी विदेश जान नपाउने व्यवस्था मिलाउन यस्तो निर्णय गरिएको हो । सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकमार्फत शंकास्पद ढंगले नेपालमा रकम भित्र्याएको आरोप लाग्दै आएको छ। यससँग सम्बन्धित विषयमा उनले मुक्तिश्री सिमेन्ट र स्याटलाइट टेलिकममा ल्याएको भनिएको वैदेशिक लगानीको विवाद यसअघि सर्वोच्च अदालतसम्म पुगेको थियो । उक्त विवादका क्रममा सर्वोच्च अदालतबाट प्रारम्भिक चरणमा रकम नरोक्न अन्तरिम आदेश जारी भएको थियो। तर, पछि उक्त आदेशले निरन्तरता नपाएको बताइएको छ ।विभाग स्रोतका अनुसार करिब एक दशकअघि दर्ता भएका उजुरीहरूमाथि पुनः अनुसन्धान अघि बढाइएपछि सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरिएको हो । हाल अनुसन्धान जारी रहेको र सम्बन्धित निकायहरूले थप विवरण सार्वजनिक गरेका छैनन् ।




प्रतिक्रिया दिनुहोस्