Skip to content

डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

काठमाडौँ – डोल्पामा लेदोसहितको बाढी घर पस्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ३ बजेतिर आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विक घर भित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए  । बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् ।

घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएको डिएसपी गिरीले बताए । अन्य पाँच जना भने उपचारपछि डिस्चार्ज भएको उनले बताए । साथै मृतकका आफन्त पर्ने ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनापछि बेहोस भएका थिए । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको डिएसपी गिरीले जानकारी दिए । प्रारम्भिक विवरणअनुसार बाढीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोष्ट हुरी कोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको छ । प्रहरीले बाढीबाट भएको थप क्षतिको विवरण संकलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्