काठमाडौँ – मध्य यमनमा रहेको सैन्य शिविरहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा ३० यमनी सरकारी सैनिक मारिएको बताइएको छ । यो पछिल्ला केही वर्षयता दुवै पक्षबीच भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ ।
यमनको रक्षा मन्त्रालयका अनुसार मारिब र हदरामौत प्रान्तका विभिन्न सैन्य शिविरहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत आक्रमण गरिएको थियो । उक्त आक्रमणमा धेरै सैनिकको मृत्यु हुनुका साथै कैयौं घाइते भएका छन् । यद्यपि, मन्त्रालयले मृतकको यकिन संख्या भने सार्वजनिक गरेको छैन । रक्षा मन्त्रालयले यस आक्रमणलाई विश्वासघाती भन्दै यस आक्रामक कदमको उचित समय र स्थानमा जवाफ दिइने चेतावनी दिएको छ ।
उत्तरपश्चिमी यमनको ठूलो भूभाग नियन्त्रणमा राख्दै आएका तथा इरान समर्थित हुथी विद्रोहीहरूले भने आफूहरूले सैन्य अभियानको तयारी गरिरहेका भनिएका ठूला साउदी सैन्य जमघटलाई निसाना बनाएको दाबी गरेका छन् । यमनको गृहयुद्धका क्रममा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले सरकारी सेनालाई समर्थन गर्दै आएको छ ।
यसैबीच, अर्को छुट्टै आक्रमणमा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनका प्रवक्ताले साउदी अरबको नजरान सीमावर्ती क्षेत्रमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन् । उनका अनुसार उक्त आक्रमण हुथी विद्रोहीहरूले गरेका हुन् । गठबन्धनले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा घाइतेमध्ये सात जना साउदी नागरिक रहेको उल्लेख गरिएको छ । उनीहरूमध्ये एक महिला र चार वर्षका एक बालक पनि छन् । अन्य चार घाइते यमन, पाकिस्तान र इजिप्टका नागरिक हुन् ।
यमनको रक्षा मन्त्रालयका अनुसार मध्य यमनमा हुथी विद्रोहीहरूले बिहीबार स्थानीय समयअनुसार बिहान १०:४० बजे आक्रमण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्