काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेतासमेत रहेका भट्ट गत २९ साउनमा एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि उनले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर आज विश्वासको मत लिने निर्णय गरेका हुन् । भट्टले विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइदिन मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए। सोही पत्रका आधारमा आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राखेपछि मतदान प्रक्रिया अघि बढ्नेछ । सुदूरपश्चिम प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेकपाका २२, नेपाली कांग्रेसका १८, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभामा आवश्यक बहुमत जुटाउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्