काठमाडौँ – केन्यामा बुधबार भएको हेलिकाेप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी–कोन्टुगी र उनकी श्रीमती स्टेफानी होलिहानसहित सात जनाको मृत्यु भएको छ । अमेरिकी विदेश विभागका एक प्रवक्ताले दुर्घटनामा पाँच अमेरिकी नागरिकको पनि मृत्यु भएको बताएका छन् ।
उत्तरी केन्याको सम्बुरु काउन्टीमा पर्यटक बोकेको हेलिकाेप्टर दुर्घटनामा परेको हो । हेलिकाेप्टरमा चालकसहित सात जना सवार थिए र दुर्घटनामा सबैको मृत्यु भएको केन्याली अधिकारीहरूले जनाएका छन् । हेलिकाेप्टर लोइसाबा कन्जर्भेन्सीबाट इवासो न्यिरो क्षेत्रतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार बुधबार बिहान ९:१३ बजे दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकाेप्टर लुइसाबाको एक संरक्षित वन्यजन्तु क्षेत्रमा रहेको स्थानबाट इवासो न्यिरो नदीतर्फ हवाई यात्रामा निस्किएको थियो । इवासो न्यिरो केन्याका विभिन्न क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो । प्राधिकरणले केन्याको यातायात मन्त्रालय र हवाई दुर्घटना अनुसन्धान विभागले घटनाको अनुसन्धान गर्ने जनाएको छ । अनुसन्धानमा हेलिकाेप्टर दुर्घटनामा पर्नुको कारण र त्यसपछाडिका सम्पूर्ण परिस्थितिबारे अध्ययन गरिने प्राधिकरणले उल्लेख गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस्