Skip to content

अर्किड आइडल नृत्य प्रतियोगिताको ग्रान्ड फाइनलमा २४ प्रतियोगी

काठमाडौं – काठमाडौंको गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा सञ्चालन भइरहेको अर्किड आइडल नृत्य प्रतियोगिता–२०८३ को १३औँ संस्करणअन्तर्गत सेमिफाइनल चरण सम्पन्न भएको छ। सेमिफाइनलमा उत्कृष्ट नृत्य प्रस्तुति दिँदै २४ जना प्रतियोगी ग्रान्ड फाइनलमा प्रवेश गर्न सफल भएका छन् । प्रतियोगितामा सहभागी प्रतियोगीहरूले उत्साह, ऊर्जा र उत्कृष्ट प्रतिभासहित विभिन्न नृत्य प्रस्तुत गरेका थिए । निर्णायकहरूको मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने २४ जना प्रतियोगी फाइनल चरणका लागि छनोट भएका हुन् ।

फाइनलमा प्रवेश गर्न सफल प्रतियोगीहरूलाई विद्यालय तथा आयोजकले बधाई दिँदै आगामी प्रस्तुतिका लागि शुभकामना व्यक्त गरेको छ। साथै, प्रतियोगितामा उत्साहपूर्वक सहभागी भई कार्यक्रमलाई सफल तथा रोमाञ्चक बनाउन सहयोग गर्ने सम्पूर्ण प्रतियोगीप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ । विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले अर्किड आइडल नृत्य प्रतियोगिताले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए । उनले सेमिफाइनलसम्म आइपुग्दा प्रतियोगीहरूले देखाएको उत्साह र प्रतिभा प्रशंसनीय रहेको उल्लेख गर्दै ग्रान्ड फाइनल अझ भव्य र रोमाञ्चक हुने विश्वास व्यक्त गरे ।

उनले भने, “प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूको नृत्य प्रतिभालाई पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु हो । सेमिफाइनलसम्म आइपुग्दा सबै प्रतियोगीले उत्कृष्ट प्रस्तुति दिएका छन् । अब भदौ १६ गते हुने ग्रान्ड फाइनलमा पनि उत्कृष्ट प्रतिभा र प्रस्तुति देखिने अपेक्षा गरेका छौँ।”

अब प्रतियोगिताको सबैभन्दा प्रतीक्षित चरण ग्रान्ड फाइनल यही भदौ १६ गते आयोजना हुने भएको छ। फाइनलमा प्रवेश गरेका २४ प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार ग्रान्ड फाइनललाई अझ भव्य, सौहार्दपूर्ण र रोमाञ्चक बनाउन आवश्यक तयारी भइरहेको छ । अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गर्दै आएको यस प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र कलात्मक प्रतिभा विकासमा समेत योगदान पुर्‍याउँदै आएको विद्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्