Skip to content

घनघस्याको उकालो: समयकालको दुई छेउमा उभिएका दुई यात्रा

प्रकाशचन्द्र मिश्र 

समयको नदी बग्छ । त्यसको दुवै किनारमा कहिलेकाहीं एउटै बाटोका दुई फरक पदचाप छाडिन्छन्। एउटा पदचाप आधा शताब्दीअघिको, अर्को आजको। एउटा कलमले लेखिएको, अर्को क्यामेरा र आँखाले पछ्याइएको । डा. तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्दा’ र हेर्ने कथाकी पत्रकार विद्या चापागाईंको ‘घनघस्याको उकालो फेरि काट्ता’ यी दुई यात्रा एउटै उकालोका दुई अनुहार हुन्।

एउटाले उकालोलाई जीवनको कठोर दर्शन बनाएको छ, अर्काले त्यही उकालोलाई सम्झनाको पुल बनाएको छ। वि.सं. २०२४ सालको पुसको अन्तिम हप्ता। सुदूरपूर्वको इलामे शरीर बोकेर डा. तारानाथ शर्मा महाकाली अञ्चलको झुलाघाटबाट डडेल्धुरातिर हिँड्दै थिए। प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भाव उनको छातीमा थियो। सतबाँझको लेकमा हिउँ खेल्दा उनी लेख्छन् ‘यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो।’ अनि अघोरी गाड तरेपछि सुरु हुन्छ त्यो कुख्यात उकालो। डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटो, चुच्चे ढुङ्गा, पसिनाले निथ्रुक्क भिजेको शरीर, पानीको अभाव, चितुवा-भालुको डर। मोटो शरीर भएकाले उकालो देख्ने बित्तिकै सातोपुत्लो उड्ने उनलाई त्यो बाटो जेमराजजत्तिकै भयावह लाग्छ। उनी घनघस्यालाई मानवीकरण गर्छन्—टाउकामा चिप्लो बरफको हिउँलो केश फुलाएर, अररो वृद्ध शरीरमा काला रूखका जिङ्ग्रिङे भुत्ला ठड्याई, गजधुम्म परेर बसेको, मान्छेसित अग्घोरै रिसाएको वृद्ध। सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ। युगहरू बिते, समयले टाप लगायो, तर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टो लगाएकै छ। पाँच वर्षअघि एउटा स्कुलको कथाबाट सुरु भएको हेर्ने कथाको एक सयौं अंकमा विद्या चापागाईं र उनको टोली त्यही उकालो फेरि काट्न निस्किए।

ताना शर्माका पैतालाका डोब पछ्याउँदै। बैतडीको पाटनबाट सुरु भयो यात्रा। पाटन फेरिएको थियो—फाट्टफुट्ट घरका ठाउँमा बजार र एयरपोर्ट। सतबाँझमा हिउँ थिएन। आजकल डडेल्धुरा हुँदै बैतडी र दार्चुलासम्म सलल मोटरबाटो पुगेको छ। तर उकालो अझै उकालो नै थियो। गणेश भट्टराईले बाटो देखाए। अघोरी गाड तरेपछि सुरु भयो त्यो टोपी खस्ने उकालो। भागिरथी आमाले चिसो पानी खुवाइन्, दुई लाँक्रा उखु दिए। बिनौडा गाउँमा गाउँलेहरू स्वागत गर्न आए। देवकी म्याडमले सुनाइन्—ताना शर्मा उ बेला आफ्नो घर पनि छिरेर गएका थिए। खत्याडा गाउँमा चिया खाएर अन्तिम ठाडो उकालो। धुरा पुग्दा घाम क्षितिजमा बिलाइसकेको थियो। गणेश भट्टराईले आगो बाले। भित्रैदेखि न्यानो महसुस भयो। राति एघार बजेतिर डडेल्धुराको पोखरा बजार पुग्यो टोली। बजार सुतिसकेको थियो। पचपन्न वर्षअघिको छाप्रो कल्पना मात्र गर्न सकियो। दुई यात्राबीचको दूरी समयको मात्र होइन। शर्माको नियात्रामा उकालो जीवन संघर्षको प्रतीक हो।

उनी कालोपत्रे बाटाहरूलाई सराप्छन्—जोगबनी-धरान, भादगाउँ-बाह्रबीसे, सिंहदरबार अगाडि, बुटवल-भैरहवा। नील आर्मस्ट्रङहरू चन्द्रमामा वैज्ञानिक उपकरणसहित पुगे, हामी पानीसमेत नपाएर रुनुपर्यो। उनको कलममा प्रकृतिसितको युद्ध रमाइलो छ, तर शरीरको थकान र डर पनि उत्तिकै जीवन्त छ। गाउँलेहरूको आतिथ्य, सरलता र परिश्रमले उनलाई छोएको छ। हिउँमा खेल्दाको आनन्द आफ्नो भूमिप्रतिको गहिरो मायासँग जोडिएको छ। विद्या चापागाईंको यात्रामा उकालो सम्झनाको खोज हो। पचपन्न वर्षपछि पनि उही ढुङ्गो जहाँ घन घसेर बन्चरो बनाएका कथा छन्। उही अघोरी गाड। उही ठाडो उकालो। तर अब बाटामा मोटरबाटो मिसिएका छन्। पुराना गोरेटा डोजरले खनिएका बाटासँग अल्मलिएका छन्। गाउँहरू बढेका छन्, मान्छेहरू अझै पनि हार्दिक छन्। देवकी म्याडम र जगदिश सर जस्ता स्कुल पढाउनेहरूले जीवनका वर्षौं घनघस्याको उकाली-ओरालीमा बिताएका छन्। टोलीले आफूलाई अभागी ठानेनन्, भाग्यमानी ठाने—धुमिल विगतको पदचाप पछ्याउन पाएकोमा। बाटामा भेटिएका मान्छेहरूले महाकवि देवकोटालाई सम्झाए—‘के नेपाल सानो छ?’ वनफूलजस्तो एउटा कवि उनीहरूसँगै हिँडिरहेको थियो। शर्माको नियात्रा पाठ्यपुस्तकमा समावेश भएर लाखौं विद्यार्थीको मनमा बस्यो।

उनी झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक। उनको कलमले नेपाली भाषा र साहित्यलाई आफ्नै माटोको सुगन्ध दियो। विद्या चापागाईंको यात्रा डिजिटल युगको दस्तावेज हो। हेर्ने कथाले सामान्य मान्छेका कथा सुनाएर नेपाललाई नजिकबाट देखायो। उनीहरूको क्यामेराले उही उकालोलाई नयाँ आँखाले हेर्यो—समयले के फेर्यो, के उस्तै रह्यो भनेर। घनघस्या अझै ठडिएको छ। टाउकामा हिउँ होस् वा नहोस्, उसको घोसेमुन्टो उस्तै छ। शर्माको समयमा भरिया खोज्न साढे दश बजेसम्म दुगुर्नुपथ्र्यो, आज मोटरबाटो छ। तर उकालो काट्दा सास फुल्ने, पसिना आउने, मुटु ढक्क फुल्ने अनुभव उस्तै छ। शर्माको यात्रामा हिउँ खेल्ने आनन्द थियो, विद्याको यात्रामा हिउँ थिएन, तर गाउँलेहरूको माया उस्तै थियो। एकले लेखेर अमर बनाए, अर्काले हिँडेर सम्झनालाई जीवित राखे। यी दुई यात्रा पढ्दा वा हेर्दा लाग्छ—उकालो केवल भूगोल होइन। उकालो समय हो, सम्झना हो, संघर्ष हो, माया हो। डा. तारानाथ शर्माको कलमले घनघस्यालाई साहित्यको शिखरमा पुर्यायो। विद्या चापागाईंको पाइलाहरूले त्यही शिखरलाई फेरि छोए। समयकालको दुई छेउमा उभिएर एउटै उकालो काट्दा दुवैले नेपालको हृदय छामे। एउटा हृदय कलममा बस्यो, अर्को क्यामेरामा। दुवै अमर छन्। किनकि घनघस्याको उकालो अझै घोसेमुन्टो लगाएकै छ—र हामी अझै त्यसलाई काटिरहेका छौं, आफ्नै तरिकाले।

प्रतिक्रिया दिनुहोस्