काठमाडौं – नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले सरकारले जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउन सकेको छ कि छैन भन्ने प्रश्न उठाएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले सरकारसँग जनताका आधारभूत सरोकारसँग जोडिएका प्रश्नको जवाफ मागेकी हुन् । उनले अस्पतालमा नागरिकले सहज रूपमा उपचार पाएका छन् कि छैनन्, भूमिहीनले आफ्नो अधिकार पाएका छन् कि छैनन् र युवाले अवसर पाएका छन् कि छैनन् भन्ने प्रश्न सरकारसमक्ष राखिन् । उनले सरकारले आफ्नै आयोगका प्रतिवेदन सार्वजनिक गरेको छ कि छैन तथा हिमालका आवाज विश्व समुदायसम्म पुगेका छन् कि छैनन् भन्ने विषयमा पनि प्रश्न उठाइन् ।
‘अब पुरानालाई गाली गरेर नयाँ बन्ने होइन, काम गरेर देखाउने समय हो । अब मन्त्री फेर्ने होइन, प्रणाली सुधार्ने समय हो । अब आश्वासन होइन, परिणाम दिने समय हो,’ उनले भनिन् । सांसद थपलियाले जनताले सरकारको अनुहार सम्झेर इतिहास नलेख्ने भन्दै आफ्नो जीवनमा आएको परिवर्तनका आधारमा इतिहास लेखिने बताइन् । ‘जनताले सरकारको अनुहार सम्झेर इतिहास लेख्ने छैनन्, आफ्नो जीवनमा आएको परिवर्तन सम्झेर इतिहास लेख्नेछन् । अब प्रश्न सरकारमा कुन दल छ भन्ने होइन, प्रश्न सरकारले जनताको जीवनमा के बदल्यो ?’ उनले भनिन् । उनले पुराना राजनीतिक दलका कमी–कमजोरीमाथि प्रश्न उठाउन पाउने अधिकार सबैलाई रहेको बताउँदै आफूहरू प्रश्न सुन्न तयार रहेको धारणा राखिन् । तर पुराना दललाई गाली मात्रै गरेर नयाँ राजनीतिक मान्यता स्थापित हुन नसक्ने उनको भनाइ थियो ।
‘पुराना दलका कमी–कमजोरीमाथि प्रश्न उठाउन पाउनुपर्छ, उठाउनुहोस्, हामी सुन्न तयार छौँ । तर पुरानो दललाई गाली मात्र गरेर नयाँ राजनीतिक मान्यता स्थापित हुँदैन,’ उनले भनिन्, ‘यस्ता पुराना दललाई गाली मात्र गरेर देश बन्छ भने गाली मात्रै गर्नुहोस्, हामी सुन्न तयार छौँ । तर यो देश बन्नुपर्छ ।’ थपलियाले राजनीतिक संस्कारका विषयमा पनि प्रश्न उठाउँदै अरूलाई प्रश्न गर्दा सहज मान्ने तर आफूहरूलाई प्रश्न गर्दा त्यसलाई प्रतिशोधका रूपमा लिने प्रवृत्तिमाथि आपत्ति जनाइन् । ‘अरूलाई प्रश्न गर्दा बडो आनन्द मान्नुहुन्छ, तर तपाईंहरूलाई प्रश्न गर्दा प्रतिशोध हुने ? तपाईंहरू कस्तो राजनीतिक संस्कार विकास गर्न खोज्दै हुनुहुन्छ ?’ उनले प्रश्न गरिन् ।
पूर्णपाठ
सम्माननीय सभामुख महोदय,
बाढीमा आफ्नो अमुल्य जीवन गुमाउनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। भोटेकोशी बाढीका कारण त्रिशुली नदीमा रहेको फुर्के खोलाको पुल बगेको आज २३ दिन भइसकेको छ। मैले यसअघि पनि बारम्बार यही सम्माननीय सदन मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जनताको आवतजावत दैनिकी सहज बनाउन यथाशीघ्र अस्थायी बेलीब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ तर सरकार कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसिरहेको छ।
सरकारको यस्तो ढिलासुस्ती देख्दा लाग्छ के नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो? धादिङका नागरिकहरुले आफैलाई प्रश्न गर्न थालिसकेका छन् । त्यसैले म यस सम्मानीत सदन मार्फत सरकारलाई फेरि पनि स्पष्ट रुपमा भन्न चाहन्छु किन्तु परन्तु होइन धादिङको नागरिकलाई फुर्के खोलामा पुल चाहिन्छ । बाढीका कारणले प्रभावित ठाउँहरु धादिङ, रसुवा, नुवाकोटका व्यवसायी तथा आम नागरिकले बैंकबाट लिएको ऋणको ब्याज तथा विद्युतको महसुल पुनर्स्थापना नहुञ्जेलसम्म सरकारले मिनाहा गर्नुपर्छ, पीडितको आधारभूत आवश्यकता सरकारले ग्यारेन्टी गर्नुपर्छ।
सभामुख महोदय,
पृथ्वी राजमार्गको कृष्णभिरको समस्या तर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। कृष्णभिरमा पहिरो गएको आज १९ दिनमा बल्ल सडक सुचारु भयो तर कृष्णभिरको समस्या आजको मात्र समस्या होइन, यस क्षेत्रमा पटक-पटक पहिरो जाने सडक अवरुद्ध हुने गर्दछ। सरकारलाई मेरो अनुरोध छ हामीले तत्कालीन समाधानसँगै दीर्घकालीन वैकल्पिक मार्ग तयार गर्नुपर्छ। यसका लागि मलेखु-ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सडकका रुपमा विकास गर्न सकिन्छ।
सभामुख महोदय,
एउटी आमा प्रसव पीडामा सडकमा बच्चा जन्माउन बाध्य हुनु विडम्बना हो । यसमा राजनीति हुँदैन, राजनीतिमा विचार फरक हुन सक्छ। सरकार र प्रतिपक्ष बीच आरोप-प्रत्यारोप पनि हुन सक्छ तर एउटी आमाको प्रसव पीडालाई पनि राजनीतिक षड्यन्त्र देख्न थाल्यौँ भने हामी कस्तो राजनीति गरिरहेका छौँ, आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । नागरिक अस्पताल पुग्दा अस्पतालले पहिला पैसा खोज्छ कि उपचार ? मेरो प्रश्न छ प्रधानमन्त्रीज्यूलाई, मेरो प्रश्न छ स्वास्थ्य मन्त्रीज्यूलाई, अस्पताललाई कडा कारबाही हुन्छ कि हुँदैन ? पीडित परिवारले न्याय पाउँछन् कि पाउँदैनन् ? हो भने यस्ता घटना नदोहोरिन सरकार कस्तो कदम चाल्छ ? एउटा मधेशको छोरो प्रधानमन्त्री हुँदा मधेशको छोरी, बुहारीको यस्तो हालत ?
सभामुख महोदय, फेरि पनि प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु, तपाईंले गर्नुभएको १०० बुँदे संकल्प कहाँ पुग्यो ? आज नागरिकले दिनमा १०० पटक यो सरकारको विकल्प खोज्न थालिसकेका छन् । त्यसैले सरकारलाई मेरो प्रश्न छ, १०० दिन बितिसक्दा कति घोषणा भयो भन्ने होइन, १०० दिन बितिसक्दा नागरिकले जीवनमा कति परिवर्तन आयो भन्ने हो ।
सभामुख महोदय,
मन्त्रीज्यूहरुको कुरा सुन्दा पनि कहिलेकाहीँ अचम्म लाग्छ । कोही मन्त्रीज्यू खुट्टा भाच्ने कुरा गर्नुहुन्छ, कोही मन्त्री पाता फर्काउने कुरा गर्नुहुन्छ तर नागरिकले अहिले पनि रित्तो सिलिन्डर बोकेर, काँधमा बोकेर ग्यासको लाइनमा उभिन दौडिरहेका छन् । अझ बाढी प्रभावित भएको जिल्लाहरुको अवस्था बुझ्नुहुन्छ भने अझ दयनीय छ । त्यसैले म भन्न चाहन्छु, न सरकारले नागरिकलाई ग्यास दिन सक्यो, न सरकारले बजारको महङ्गी नियन्त्रण गर्न सक्यो ।
सभामुख महोदय,
२०८३ साल वैशाख १३ गते राजधानीका नदी किनारमा बस्दै आएका सुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो । घर भत्काइएपछि कतिपय परिवारलाई होल्डिङ सेन्टरमा राखियो, विस्थापित पछि विभिन्न कारणले मृत्यु भएका घटना समेत सार्वजनिक भयो । सुकुम्बासी मोर्चाले १० जनाको मृत्यु भएको दाबी गरेपछि गरेको छ तर सरकारले आजसम्म यस सम्बन्धी आधिकारिक तथ्याङ्क दिन सकेको छैन । हामी जान्न चाहन्छौँ, कति परिवारको पहिचान भयो ? कति परिवारलाई स्थायी आवास दिइयो र बाँकीलाई कहिले दिइन्छ ? डोजर चलाएर टहरा हटाउनु समाधान होइन, वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार दिनु समाधान हो । घर भत्काउन एक दिन लाग्न सक्छ तर एउटा परिवारको जीवन पुनर्स्थापना गर्न वर्षौँ लाग्न सक्छ ।
सभामुख महोदय,
पुराना दलका कमी-कमजोरी माथि प्रश्न उठाउन पाउनुपर्छ, उठाउनुहोस्, हामी सुन्न तयार छौँ । तर पुरानो दललाई गाली मात्र गरेर नयाँ राजनीतिक मान्यता स्थापित हुँदैन । यस्ता पुराना दललाई गाली मात्र गरेर देश बन्छ भने गाली मात्रै गर्नुहोस्, हामी सुन्न तयार छौँ तर यो देश बन्नुपर्छ । अरुलाई प्रश्न गर्दा बडो आनन्द मान्नुहुन्छ तर तपाईंहरुलाई प्रश्न गर्दा प्रतिशोध हुने ? तपाईंहरु कस्तो राजनीतिक संस्कार विकास गर्न खोज्दै हुनुहुन्छ ?
सभामुख महोदय,
प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदै हुनुहुन्छ । यहाँको यो भ्रमण फलदायी बनोस्, हाम्रो दल नेपाली कांग्रेसको तर्फबाट शुभकामना छ । प्रधानमन्त्रीज्यूले विश्वसामु जलवायु परिवर्तन, जलवायु न्यायको विषय बलियोसँग उठाउनुहुन्छ भन्नेमा म ढुकु छु । हामी सङ्कट सिर्जना गर्ने ठूलो योगदान गरिरहेका छैनौँ तर सङ्कटको मूल्य हामीले चुकाइरहेका छौँ, त्यसैले नेपालको माग केवल आर्थिक सहयोगको मात्र होइन, जलवायु न्यायको पनि हो ।
सभामुख महोदय,
आज जनताको प्रश्न छ सरकारलाई – अस्पतालमा उपचार पाइयो कि पाइएन ? भूमिहीनले अधिकार पाए कि पाएनन ? युवाले अवसर पाए कि पाएनन ? सरकारले आफ्नै आयोगको प्रतिवेदन सार्वजनिक गर्यो कि गरेन? हाम्रो हिमालका आवाज विश्वले सुन्यो कि सुनेन ?त्यसैले अब पुरानालाई गाली गरेर नयाँ बन्ने होइन, काम गरेर देखाउने समय हो । अब मन्त्री फेर्ने होइन, प्रणाली सुधार्ने समय हो। अब आश्वासन होइन, परिणाम दिने समय हो । र अन्त्यमा, जनताले सरकारको अनुहार सम्झेर इतिहास लेख्ने छैनन्, आफ्नो जीवनमा आएको परिवर्तन सम्झेर इतिहास लेख्नेछन् । अब प्रश्न सरकारमा कुन दल छ भन्ने होइन, प्रश्न सरकारले जनताको जीवनमा के बदल्यो ? धन्यवाद, जय नेपाल !



प्रतिक्रिया दिनुहोस्