कर्णाली – पहिरोमा खसेको ढुंगा लागेर डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडागाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिप्रका डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम रावलका अनुसार शुक्रबार राति करिब पौने १० बजे ढुङ्गा लागेर घाइते उनी घाइते भएका थिए । त्यसपछि उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रावलका अनुसार सोही स्थानमा ढुङ्गा लागेर ३८ वर्षीय चन्द्ररूप केसी सामान्य घाइते भएका छन् । ढाडमा चोट लागेका उनी सामान्य उपचारपछि घर फर्केका छन् । घटनास्थल डोल्पा सदरमुकाम दुनैबाट चार घण्टा टाढा भएकाले मनरूपको मृत्युको खबर आज बिहान मात्रै थाहा भएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्