Skip to content

अपिहिमाललाई विश्व पर्यटनको गन्तव्य बनाउने लक्ष्यसहित पर्यटन उत्सव सम्पन्न

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको ‘अपिहिमाल पर्यटन उत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । अपि हिमालको आधार शिविरमा आयोजित उत्सवले अपिहिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, पर्यटकीय सम्भावना र मौलिक संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ ।

उत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले गरेका थिए । उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीम भण्डारीसहित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, सञ्चारकर्मी, कलाकार, स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र विष्टसहित कर्मचारीहरूको पनि सहभागिता थियो ।

प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, जैविक विविधता र मौलिक संस्कृतिले सम्पन्न अपिहिमाल क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो । समुद्री सतहदेखि उच्च हिमाली भूभागसम्म फैलिएको यस क्षेत्रको आधार शिविरमै उत्सव आयोजना हुनुले अपिहिमालको पर्यटकीय आकर्षणलाई थप उजागर गरेको छ ।

अपिहिमाल क्षेत्र पदयात्रा, साहसिक पर्यटन, हिमाल आरोहण तथा धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । पर्याप्त प्रचारप्रसार, पर्यटनमैत्री पूर्वाधार र आवश्यक सेवाको विस्तार गर्न सके यस क्षेत्रले सुदूरपश्चिमको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उत्सवले अपिहिमाललाई देश तथा विदेशमा चिनाउनुका साथै स्थानीय रोजगारी सिर्जना, आर्थिक गतिविधि वृद्धि र पर्यटन व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । स्थानीय उत्पादन, कला, संस्कृति र प्राकृतिक सम्पदाको प्रवर्द्धनमार्फत गाउँपालिकाको आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षासमेत गरिएको छ । अपिहिमाल गाउँपालिकाले आयोजना गरेको यस उत्सवलाई सुदूरपश्चिमको पर्यटन सम्भावना उजागर गर्ने तथा अपिहिमाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्