Skip to content

महाकालीमा भारतको एकतर्फी हस्तक्षेप, नेपालको सार्वभौमिकतामाथि गम्भीर चुनौती

दार्चुला — नेपाल–भारतबीचको सम्बन्धलाई मित्रता र ऐतिहासिक निकटताको रूपमा व्याख्या गरिँदै आए पनि सीमावर्ती क्षेत्रमा देखिएको व्यवहारले त्यो दाबीलाई बारम्बार प्रश्नमा पारिरहेको छ। विशेषगरी दार्चुला क्षेत्रमा पर्ने महाकाली नदीमा भारतले नेपाल सरकारलाई कुनै जानकारी नदिई एकतर्फी तटबन्ध निर्माण गरिरहेको घटनाले नेपालको सार्वभौमिकतामाथि गम्भीर चुनौती खडा गरेको छ ।

२०७० सालको विनाशकारी बाढीले दार्चुला सदरमुकाम बगाउँदा नेपाल संकटमा परेका बेला आवश्यक तटबन्ध निर्माणमा भारतीय पक्षबाट अवरोध भएको स्मरण अझै ताजै छ। तर अहिले नेपालसँग कुनै औपचारिक सहमति नगरी महाकाली नदीमा एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेको छ । यो व्यवहार मित्रताको भावना भन्दा पनि दबाब र एकाधिकारमुखी शासकीय प्रवृत्तिको संकेतका रूपमा हेरिएको छ । सीमाना नदीमा गरिने कुनै पनि संरचना द्विपक्षीय सहमति र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने स्पष्ट व्यवस्था छ। त्यसको उल्लंघन हुनु अन्तर्राष्ट्रिय कानुन र छिमेकी धर्म दुवैको अवहेलना हो । अझ गम्भीर पक्ष भनेको यति संवेदनशील विषयमा नेपाल सरकारको मौनता रहेको स्थानीय सरोकारवालाहरूको गुनासो छ । नेपालको प्रशासनलाई कुनै जानकारी नदिई एकतर्फी रूपमा तटबन्ध निर्माण गर्नु अत्यन्त दुःखद र आपत्तिजनक कार्य भएको भन्दै यसलाई तत्काल रोक्न जिल्ला प्रशासन, राजनीतिक दल तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण आवश्यक देखिएको छ ।

नेपाल मित्रताको नाममा आफ्नो सार्वभौमिकता गुमाउन सक्दैन । भावनात्मक नाराले होइन, दृढ र स्पष्ट कूटनीतिक पहल  गर्नुपर्ने देखिएको छ । महाकाली क्षेत्रमा भइरहेको एकतर्फी हस्तक्षेप रोक्न ठोस राष्ट्रिय कदम चालिनु आजको प्रमुख आवश्यकता बनेको छ ।

तस्वीर सबै : सुन्दरसिंह धामी 

प्रतिक्रिया दिनुहोस्