काठमाडौं – सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने मोटरसाइकल तथा स्कुटरलाई अब अनिवार्य रूपमा भाडाका सवारीसाधनका रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। नयाँ आर्थिक ऐनमार्फत गरिएको व्यवस्थाअनुसार रातो नम्बर प्लेट भएका दुईपाङ्ग्रे सवारीसाधनले राइड सेयरिङ सेवा सञ्चालन गर्न पाउने छैनन् ।
सरकारले पहिलोपटक दुईपाङ्ग्रे सवारीसाधनलाई पनि भाडाका सवारीसाधनका रूपमा दर्ता गर्ने कानुनी व्यवस्था लागू गरेको हो। यातायात व्यवस्था ऐन, २०४९ अनुसार भाडाका सवारीसाधनलाई कालो नम्बर प्लेट प्रदान गरिन्छ । नयाँ व्यवस्थाअनुसार राइड सेयरिङका लागि प्रयोग हुने मोटरसाइकल तथा स्कुटरले कालो नम्बर प्लेट लिनुपर्नेछ। साथै, यस्ता सवारीसाधनले वार्षिक आयकरसमेत तिर्नुपर्नेछ। हाल उक्त कर ३ हजार रुपैयाँ तोकिएको छ । हालसम्म अधिकांश राइड सेयरिङ सेवा रातो नम्बर प्लेट भएका निजी मोटरसाइकल तथा स्कुटरमार्फत सञ्चालन हुँदै आएका छन्। तर अब कानुनी रूपमा सेवा सञ्चालन गर्न चाहने चालकले आफ्नो सवारी भाडाका सवारीसाधनका रूपमा दर्ता गराउनुपर्ने भएको छ । यसबाहेक सरकारले राइड सेयरिङबाट हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लाग्ने व्यवस्था पनि गरेको छ। नयाँ व्यवस्थाले राइड सेयरिङ क्षेत्रलाई औपचारिक र करको दायराभित्र ल्याउने सरकारको उद्देश्य रहेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्