काठमाडौं – काठमाडौंको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलका विद्यार्थीहरूले डीन (DEAAN) शैक्षिक संस्थाद्वारा आयोजित अन्तरविद्यालय स्तरीय हस्तलेखन, चित्रकला तथा पेन्टिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विद्यालयबाट सहभागी चार जना विद्यार्थीमध्ये रोनिस गोले चित्रकला तथा पेन्टिङतर्फ प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी सुप्रिया शिवाकोटी ले प्राथमिक तह अन्तर्गत हस्तलेखन प्रतियोगितामा तृतीय स्थान तथा स्यामी सिंहले निमावि तहमा चौथो स्थान प्राप्त गर्दै विद्यालयलाई गौरवान्वित बनाएका छन् । उक्त उपलब्धिप्रति विद्यालय परिवारले विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरेको छ । विद्यालयले विद्यार्थीहरूको लगनशीलता, अनुशासन र निरन्तर परिश्रमको प्रतिफलस्वरूप यो सफलता हासिल भएको जनाएको छ । विद्यालयका सञ्चालक प्रेमकुमार भुजेलले विद्यार्थीहरूको उपलब्धिले विद्यालय परिवारलाई गर्व महसुस गराएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीभित्र रहेको सिर्जनशीलता र प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे । उनले आगामी दिनमा पनि विद्यार्थीको चौतर्फी विकासलाई केन्द्रमा राखेर विद्यालयले यस्ता गतिविधिमा निरन्तर सहभागिता जनाउने बताए ।
त्यसैगरी विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले शैक्षिक उपलब्धिसँगै सिर्जनात्मक क्षमता विकास पनि विद्यालय शिक्षाको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै विद्यार्थीहरूले अनुशासन, मेहनत र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको बताए ।विद्यालय संयोजक नरेन्द्र पाण्डेयले यस्ता कार्यक्रमले विद्यार्थीलाई सिकाइसँगै व्यवहारिक अनुभव र आत्मविश्वास बढाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै विद्यालयले भविष्यमा पनि विद्यार्थीको प्रतिभा पहिचान र विकासलाई प्राथमिकतामा राख्ने बताए । विद्यालयले अन्त्यमा विद्यार्थीहरूको चौतर्फी विकासका लागि प्रभावकारी तथा सिर्जनात्मक प्रतियोगिता आयोजना गरेकोमा डीन (DEAAN) परिवार प्रति विशेष आभार व्यक्त गरेको छ ।




प्रतिक्रिया दिनुहोस्