काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तराई–मधेसमा पछिल्ला दिनमा विकसित परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि सरकारले अपेक्षित सक्रियता नदेखाएको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेसँग पार्टीका सांसदहरूको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै झाले सुनसरी, सिरहा र धनुषालगायतका जिल्लामा राज्यको प्रभावकारी उपस्थिति कमजोर देखिएको बताए । उनले प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहताको घटनापछि पीडित परिवारले अझै शव बुझ्न नसकेको, दाहसंस्कार हुन नसकेको तथा परिवारले आवश्यक सान्त्वना र क्षतिपूर्ति नपाएको उल्लेख गर्दै सरकारको संवेदनशीलता माथि प्रश्न उठाए । “राज्यको सक्रियता र तदारुकता जति हुनुपर्ने थियो, त्यो देखिएको छैन। अहिले पनि ओमप्रकाशजीको दाहसंस्कार हुनुपर्ने, शव परिवारले बुझ्नुपर्ने, परिवारले सान्त्वना वा क्षतिपूर्ति पाउनुपर्ने विषयमा कमी देखिएको छ,” उनले भने। जनकपुरबाट निर्वाचित सांसदसमेत रहेका झाले जनकपुरको अवस्था पनि चिन्ताजनक रहेको बताए। उनका अनुसार बजार बन्द छन्, चोक–चोकमा टायर बालेर प्रदर्शन भइरहेको छ र स्थानीयवासी असुरक्षित महसुस गरिरहेका छन् । “जनकपुर सुरक्षित देखिँदैन। चोक–चोकमा मान्छेहरूले टायर बालेर बसेका छन्। विरोधमा उत्रिएका छन्। यी कुराहरू एउटा निर्वाचित जनप्रतिनिधिका लागि पनि सुखद होइनन्। हामी यहाँ कानुन बनाएर बस्ने कि त्यहाँ ग्राउन्डमा जाने?” उनले प्रश्न गरे।
झाले प्रधानमन्त्री र गृहमन्त्रीबाट आवश्यक पहल नदेखिएपछि रास्वपा सभापति लामिछानेले तराई–मधेस तथा कोशी प्रदेशका सांसदहरूलाई बोलाएर पछिल्लो अवस्थाबारे छलफल गरेको जानकारी दिए । यसैबीच बढ्दो विरोध र चौतर्फी दबाबपछि प्रधानमन्त्रीले सुरक्षा निकायसँग छलफल गर्ने, गृहमन्त्रीसँग समन्वय गर्ने तथा राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्