काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मन्त्रालय र मातहतका निकायलाई तोकिएका जिम्मेवारी तथा कार्यक्रम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) बैठक तथा आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधार गर्न निर्देशन दिएका हुन् ।
बैठकमा मन्त्रालय र मातहतका निकायले पहिलो त्रैमासिकमा गरेका कार्यसम्पादनको समीक्षा गरिएको थियो। सो क्रममा निकायगत प्रगति, कार्यसम्पादनमा देखिएका समस्या तथा तिनको समाधानका उपायबारे छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नयाँ सोच र कार्यशैली अपनाएर समस्या समाधान तथा कार्यसम्पादन गर्न सुझाव दिए । उनले नीतिगत समस्या समाधानका लागि आयोगले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि जनाए । त्यस्तै, मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पहिलो त्रैमासिकमा देखिएका कमजोरी सुधार गर्दै वार्षिक लक्ष्य हासिल गर्ने गरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । उनले जनताका गुनासालाई प्रभावकारी रूपमा सम्बोधन गर्न तथा बेरुजु नियमसङ्गत रूपमा फर्छ्योट गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरे । बैठकमा मन्त्रालय तथा मातहतका निकायको कार्यप्रगति, सेवा प्रवाहमा देखिएका समस्या र आगामी कार्ययोजनाका विषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्