काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको स्थायित्व र मुलुकको विकासका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन् । उनले पार्टीको वडा र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको तथा जिल्ला र प्रदेश अधिवेशन पनि छिट्टै हुने जानकारी दिँदै अब पार्टीका सबै संरचना निर्वाचन केन्द्रित हुनुपर्ने बताए। १५औँ महाधिवेशनमा विभिन्न पदमा पराजित भएका उम्मेदवारलाई पनि आगामी दिनमा निर्वाचित हुने गरी सक्रिय भएर काम गर्न उनले आग्रह गरे । ‘जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ। जनताका मुद्दामा कांग्रेस सधैँ अगाडि लाग्नुपर्छ,’ पौडेलले भने । कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएको उल्लेख गर्दै उनले कांग्रेस शासन गर्न नभई जनताको सेवा गर्न बनेको बताए। बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग कांग्रेसको विचारले बसालेको दाबी गर्दै उनले विगतमा आलोचना गर्ने र फरक धारमा रहेका शक्तिहरूले समेत अहिले यही व्यवस्था स्वीकार गरेको बताए ।
महामन्त्री पौडेलले स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकको चित्त बुझ्ने गरी काम गर्न पनि निर्देशन दिए। सार्वजनिक जग्गाको संरक्षण, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि तथा न्यायको पक्षमा आवाज उठाउन उनले आग्रह गरे । कार्यक्रममा कांग्रेस काठमाडौं क्षेत्र नं. ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। जनतासँग प्रत्यक्ष जोडिएर निर्वाचन लक्षित संगठन परिचालन गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरिएको थियो । त्यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन वैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ का सभापति तथा क्षेत्र नं. ६ अन्तर्गतका १५ वटै वडाका सभापतिलाई पनि सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्