काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालको राष्ट्रियता संकटमा रहेको बताएका छन् । उनले विदेशी शक्तिहरूले नेपालमाथि वक्रदृष्टि लगाइरहेको दाबी गर्दै राष्ट्रियताको रक्षाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई सजग रहन आग्रह गरेका छन् । नेकपाको उपत्यका प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले नेपालको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिनुपर्ने बताएका हुन् । उनले नेपालको भूमि विदेशी शक्तिको सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग हुन नहुनेमा जोड दिए । यस विषयमा पार्टी र कार्यकर्ताहरू सबैभन्दा पहिले सचेत हुनुपर्ने भन्दै उनले राष्ट्रियताको पक्षमा जनतालाई जागरुक बनाउनुपर्ने बताए । ‘नेपालको भूमिमा कसैले पनि वक्रदृष्टि नलगाओस् । नेपालको भूमिलाई छिमेकीहरूका विरुद्धमा र आफ्नो सैन्य गतिविधि गर्ने अखडाको रूपमा प्रयोग गर्ने काम कसैले नगरोस्,’ उनले भने ।
नेपालले नेपालको प्राकृतिक तथा अन्य साधनस्रोतको उपयोगका विषयमा पनि कुनै विवाद उत्पन्न हुने अवस्था आउन नदिनुपर्ने बताए । उनले नेपालको भूराजनीतिक अवस्थिति र असंलग्न परराष्ट्र नीतिलाई ध्यानमा राखेर दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने धारणा राखे । ‘हामी चाहन्छौँ, हाम्रा दुवै छिमेकीसँगको सम्बन्ध अत्यन्तै सुमधुर होस् । संसारका सबै राष्ट्रसँग हाम्रो सम्बन्ध सुमधुर होस् । हाम्रा सबै मित्र बनून् । हामी कसैसँग शत्रुता चाहँदैनौँ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्