Skip to content

जाजरकोटमा पहिरो : १० जना घाइते, तीन जना सम्पर्कविहीन

जाजरकोट – जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोका कारण घर भत्किएको तथा जोखिममा परेको सूचना पाएपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ । पहिरोले भेरी नगरपालिका–३, स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । घरमा रहेका पाँच जना परिवारका सदस्य भने सुरक्षित रूपमा आफन्तको घरमा बसेका छन् । यस्तै, सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

पहिरोमा परी भेरी नगरपालिका–२, रिसाङका ६० वर्षीय रामबहादुर शाही घाइते भएका छन् । आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो आएपछि उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उनलाई शनिबार राति ८ः३० बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । सोही स्थानका आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भेरी–२, चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि पहिरोमा घाइते भएकी छन्। शरीरका विभिन्न भागमा चोट लागेकी उनलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति ९ः१५ बजे थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

यस्तै, भेरी–१, डौरीकाँडाका ४५ वर्षीय मनवीर चदराको टाउकोमा तथा १६ वर्षीया मनिषा विकको शरीरमा चोट लागेको छ । दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। डौरीकाँडाकै ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनलाई राति १०ः५५ बजे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । सोही स्थानकी करिब २३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । रिसाङकी लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ भने उनको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सोही स्थानकी ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ ।

तीन जना सम्पर्कविहीन

पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२, फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही वडाको चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ की करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। अविरल वर्षाका कारण थप पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्