काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको नाम, झण्डा, लेटरप्याड तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग नगर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई चेतावनी दिएको छ । त्यस्ता गतिविधि नरोकिए सम्बन्धित व्यक्ति तथा समूहविरुद्ध कारबाही गर्ने कांग्रेसले जनाएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग भइरहेको निष्कर्ष निकालेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । पौडेलले यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक, पार्टीका सदस्य तथा शुभेच्छुकहरूमा भ्रम सिर्जना गरेको बताए । उनले पार्टीको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा प्रस्तुत र प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको बताए । कांग्रेसले पार्टीका आधिकारिक प्रतीकहरूको दुरुपयोग गरी भ्रामक रूपमा गतिविधि सञ्चालन गर्ने व्यक्ति वा समूहविरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही र कानुनी प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्