Skip to content

कांग्रेस देउवा समुहको सुदूरपश्चिम सभापतिमा पुष्पकुमार शाहीको उम्मेदवारी घोषणा

Nepal Bank

कैलाली – नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टी संगठनलाई सुदृढ बनाउने, गुटगत दूरी अन्त्य गर्ने र युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने एजेन्डासहित शाहीले प्रदेश सभापतिमा दाबेदारी प्रस्तुत गरेका हुन् । देउवा नेतृत्वको काँग्रेस समुहले आगामी मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने निर्णय भएसँगै कांग्रेसभित्र प्रदेश नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । यही क्रममा शाहीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै शाहीले कांग्रेसलाई समयअनुकूल नयाँ सोच, ऊर्जा र योजनासहित अघि बढाउन आफूले नेतृत्वमा दाबी गरेको बताए । पार्टीभित्र देखिएका असमझदारी र गुटगत दूरी कम गर्दै सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउनु आफ्नो मुख्य प्राथमिकता रहने उनको भनाइ छ । ‘मेरो उम्मेदवारी व्यक्तिगत पद र प्रतिष्ठाका लागि होइन, पार्टी संगठनलाई व्यवस्थित, बलियो र एकताबद्ध बनाउने उद्देश्यले हो,’ शाहीले भने, ‘मैले पार्टी र विद्यार्थी संगठनमा रहेर गरेको योगदान, संघर्ष र निरन्तरको सक्रियता अग्रज नेता, कार्यकर्ता तथा युवा साथीहरूलाई थाहा छ। उहाँहरूको साथ र विश्वास पाउनेमा विश्वस्त छु।’

उनले प्रदेश सभापतिमा सर्वसम्मत नेतृत्व चयनका लागि आफू सकारात्मक रहेको बताउँदै सहमति हुन नसके लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पारे। पार्टीका विभिन्न तहबाट आफ्नो उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया र समर्थन प्राप्त भइरहेको उनको दाबी छ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका शाही नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलालीको जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य र उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । वि.सं. २०५९ मा कैलाली बहुमुखी क्याम्पसको इकाइ अध्यक्ष बनेका शाहीले जिल्ला उपाध्यक्ष तथा नेविसंघको केन्द्रीय संगठन विभाग सदस्यको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। वि.सं. २०६१ मा नेविसंघ कैलालीको जिल्ला अध्यक्ष निर्वाचित भएका उनी २०६२ मा त्रिभुवन विश्वविद्यालय नेविसंघको उपाध्यक्ष बनेका थिए। २०६४ मा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका शाही कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका उम्मेदवारसमेत बनेका थिए ।

२०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका शाही आन्दोलनका क्रममा पटक–पटक पक्राउ परेका थिए। उनले कैलाली कारागार, केन्द्रीय कारागार र काठमाडौंका विभिन्न प्रहरी हिरासतमा गरी करिब छ महिना बिताएका थिए । डोटीको गैरागाउँ–१, चेकोटमा जन्मिएका शाहीले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक (एलएलबी) गरेका छन्। विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्मको अनुभवलाई प्रदेश नेतृत्वमा उपयोग गर्ने लक्ष्यसहित उनी सभापतिको दौडमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्