काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले मुलुकमा संविधानले चिनेका व्यक्तिभन्दा संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको आरोप लगाएका छन् । सरकार गठन भएको नौ महिना बितिसक्दा पनि मुलुकको अवस्थामा सुधार आउन नसकेको उल्लेख गर्दै उनले न्यायपालिका, व्यवस्थापिका र प्रहरी प्रशासन कमजोर बनाइएको दाबी गरे । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निजामती कर्मचारीमा त्रासको वातावरण सिर्जना भएको र सयौँ कर्मचारीले राजीनामा दिएको बताए। उनले कानुनी राज्यको अवधारणाविपरीत व्यक्तिगत शासन सञ्चालन गर्ने प्रवृत्ति बढेको आरोपसमेत लगाए । उनका अनुसार पछिल्लो समय नागरिकले आफ्ना विचार र असहमति खुलेर व्यक्त गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ। सरकारविरुद्ध नारा लगाउने व्यक्तिलाई दबाबमा पारेर बयान दिन लगाउने गरिएको उनको आरोप छ ।
‘सरकार निर्माण भएको नौ महिना भयो। वर्तमान अवस्थामा गर्नुपर्ने कुरा के भएको छ ? अहिले मुलुकमा संविधानले चिनेका मानिसले शासन गरेका छैनन्। संविधानले नचिनेका मानिसले शासन गर्ने पद्धतिको विकास भएको छ,’ उनले भने । खतिवडाले न्यायपालिका र व्यवस्थापिकाप्रति बेवास्ता गरिएको तथा प्रहरी प्रशासनसमेत कमजोर बनाइएको आरोप लगाए । अहिले नागरिकले बोल्नसमेत डराउनुपर्ने अवस्था आएको भन्दै उनले असहमति राख्ने व्यक्तिमाथि दबाब सिर्जना गरिनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताए ।
उनले संविधान निर्माणका बेला जस्तै अहिले पनि विभिन्न राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्