Skip to content

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ  – हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम सफा रहने जनाइएको छ। साथै, कोशी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले हुस्सु, तुँवालो, हिमपात तथा वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी ती क्षेत्रमा बसोबास गर्ने नागरिक तथा यातायात सञ्चालन गर्नेहरूलाई सावधानीपूर्वक दैनिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्