बैतडी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा मतदान शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदान साँझ ५:०० बजे सम्पन्न भएको हो। हालसम्म प्राप्त प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा ७१ हजार ८८४ मत खसेको छ। जसमध्ये ३९ हजार ६८० महिला, ३२ हजार २०३ पुरुष र एक जना अन्य मतदाता रहेका छन्।
जिल्लाका २१५ वटै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आज रातिसम्म सबै मतपेटिका सदरमुकाममा ल्याइसक्ने योजना रहेको छ।
सबै मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठक बसेर त्यसपछि मात्रै मतगणना कार्य सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिनेछ।
मतगणनाका लागि जिल्ला अदालतको भवनलाई मतगणनास्थल तोकिएको उहाँले बताउनुभयो। अन्तिम तथ्यांक सङ्कलन भइरहेकाले मतसंख्या अझै थपिन सक्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा यस पटक १० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।





प्रतिक्रिया दिनुहोस्